घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बु कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिल्लास्थित कार्यालय हो। यस कार्यालयले सोलुखुम्बु जिल्लामा उद्योग तथा आन्तरिक व्यापार व्यवसायको विकास, प्रवर्द्धन, प्रशासन र नियमनसम्बन्धी कार्य गर्दछ।
यस कार्यालयले रु. १५ करोडसम्म अधिकृत पूँजी भएका उद्योग तथा व्यवसायको दर्ता, नवीकरण, नियमन तथा प्रवर्द्धन गर्नुका साथै उद्यमशीलता विकास, व्यावसायिक तथा सीप अभिवृद्धि तालिम सञ्चालनमार्फत स्वरोजगार तथा उद्यम विकासमा सहयोग पुर्याउँछ।
स्वदेशी लगानी, स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय स्रोत, सीप र प्रविधिको प्रभावकारी उपयोगलाई प्रवर्द्धन गर्नु कार्यालयका प्रमुख प्राथमिकता हुन्। विदेशी लगानी तथा वैदेशिक व्यापारसम्बन्धी विषय संघीय सरकारको कार्यक्षेत्रअन्तर्गत पर्दछन्।
सरल, पारदर्शी, पहुँचयोग्य, प्रविधिमैत्री तथा सेवाग्राहीमैत्री सेवा प्रवाहमार्फत दिगो औद्योगिक तथा आर्थिक विकासमा योगदान पुर्याउनु कार्यालयको प्रमुख उद्देश्य हो।